काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण आइतबार सकिएको छ।
ललितपुरको होटल हिमालयमा आयोजित महोत्सव दुई दिनसम्म चलेको थियो।
'सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' थिम रहेको महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन्। महोत्सवको पहिलो दिन चर्चित भारतीय अभिनेता तथा लेखक पीयूष मिश्रा मुख्य आकर्षण बने।
'तुम्हारी औकात क्या है पीयूष मिश्रा' शीर्षकको सत्रमा प्रस्तोता युनुस खानसँग उनले आफ्ना बाल्यकालका जटिल अनुभव, रंगमञ्चप्रतिको मोह, परिवारको अपेक्षाविपरीत कला क्षेत्र रोज्ने साहस तथा आफ्नो आत्मकथाबारे खुलेर चर्चा गरे।
त्यस्तै, चर्चित भारतीय गायिका, अभिनेत्री तथा रंगकर्मी ईला अरूण पनि महोत्सवको आकर्षण रहिन्।
'परदे के पीछे' सेसनमा ईला अरूणले आफ्नो आत्मकथा 'चोली के पीछे' र जीवनयात्राका अनुभव सुनाइन्। साथै नेपालीतर्फ 'द ग्लोबल भ्वाइस अफ नेपाली प्रोयट्री' र 'महोत्सवका चुनौतीहरू' लगायत थुप्रै सेसन सञ्चालन भए।
महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने बताइन्। उनले साहित्यले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने उल्लेख गरिन्।
'महोत्सव केवल साहित्यिक कार्यक्रमका लागि गरिएको जमघट मात्र होइन, मानिसहरूबीच आत्मीयता र समझदारी बढाउने साझा मञ्च पनि हो,' उनले भनिन्, 'साहित्यको मूल शक्ति नै यही हो। यसले भूगोलका सीमाहरू पार गर्छ, भाषागत भिन्नतालाई आत्मीयतामा रूपान्तरण गर्छ र मानिसलाई मानिससँग जोड्ने अदृश्य पुल निर्माण गर्छ।'
महोत्सवको दोस्रो दिन पनि साहित्य, सिनेमा, हास्यव्यंग्य र गीतसंगीतसँग सम्बन्धित विभिन्न सत्र सञ्चालन गरिएका थिए। 'गीत सुन्ने कि हेर्ने?', 'सिनेमा :हिजो, आज र भोलि', 'राजेन्द्र खड्कीलाई एक डिस्काउन्ट सुझाव', 'मान्ठ: जुरूक्क कर्णाली', 'पहिचानका पदचापः समाज, सभ्यता र संस्कृति' तथा 'पुरानो हासो, नयाँ जोक्स' लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो।
त्यस्तै, 'गुञ्जिरहने शब्दहरू: कविता, सिनेमा र गीतहरूको शिल्पमा राज शेखर' शीर्षकको सत्रमा सम्पदा मल्ल ले राज शेखरसँग संवाद गरेकी थिइन्।
प्रतिभा राय, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानलगायत महोत्सवमा सहभागी रहे।
महोत्सवमा नेपाली, हिन्दी र उर्दू भाषामा गीत, कविता तथा गजलका प्रस्तुति पनि प्रस्तुत गरिएका थिए।
समापनतर्फ चर्चित मोटिभेसनल वक्ता आचार्य प्रशान्तको विशेष सत्र राखिएको थियो। बेलायतमा रहेका उनी भिडिओमार्फत सत्रमा सहभागी भएका थिए।
महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले यस वर्ष अघिल्ला संस्करणहरूको तुलनामा श्रोता तथा दर्शकको सहभागिता उल्लेखनीय रूपमा बढेको बताए।
उनले महोत्सवले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दक्षिण एसियाली साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।