फिल्म 'रोल नं १' को कमाइ १ करोड नजिक पुगेको छ।
जेठ १५ गते रिलिज फिल्मले १० दिन (आइतबार)सम्ममा ९४ लाख ९१ हजार ६८० रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ३१ हजार ७८८ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
'रोल नं १' सँगै रिलिज ‘कुम्भ’ भने बक्स अफिसमा निकै कमजोर देखिएको छ। यो फिल्मले ३ लाख ३२ हजार ४१० रूपैयाँ ग्रस कमाएको छ। फिल्मको १ हजार ४१० वटा टिकट बिक्री भएका छन्।
जोन योञ्जन निर्देशित 'रोल नं १' मा मुकुन भुसाल, निर्भिक रेग्मी, सुशांक मैनाली, रेणुनाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतको अभिनय छ।
पारिवारिक कथावस्तुमा आधारित फिल्मले विद्यार्थी जीवन, शिक्षा प्रणाली र बालबालिकाले सामना गर्ने मनोवैज्ञानिक दबाबको कथा भन्छ। फिल्मको निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्।
त्यस्तै, रन्धिर श्रेष्ठको निर्देशन रहेको 'कुम्भ' मा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रूम्बा, सुशील पोखरेल, रोबर्ट सिंहलगायत कलाकारहरूको अभिनय छ। यो एक्सन जनराको फिल्म हो। यसको निर्माता रन्धीर श्रेष्ठ र राजेश शाह हुन्।