रूपन्देहीको भैरहवास्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ।
भाटभटेनी सुपरस्टोरको पाँचौं तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, होटल, व्यापार तथा सेवा क्षेत्र विस्तार भइरहेका बेला आधुनिक मनोरञ्जन पूर्वाधारको रूपमा आईएनआई सिनेमाज थपिएको हो। यसले भैरहवा र आसपासका दर्शकलाई गुणस्तरीय सिनेमा हेर्न सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा द्रुत गतिमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए। उनका अनुसार यसले मनोरञ्जन क्षेत्रको विकाससँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवद्र्धनमा समेत योगदान पुर्याउनेछ।
कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले मल्टिप्लेक्स सञ्चालन गरिएको बताए। उनले यस हलबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे।
हल सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन्। प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ भने कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ। हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस-एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको जनाइएको छ।

आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार प्रयोग गरिएको अत्याधुनिक प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रियस्तरको सिनेमा अनुभव प्रदान गर्नेछ। सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको उनले बताए।
सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हाल काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा मल्टिप्लेक्स सञ्चालन गरिरहेको छ। भैरहवामा नयाँ शाखा सञ्चालन भएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ।
आईएनआई सिनेमाज व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको जनाएको छ।
कम्पनीका अनुसार सिनेमाका टिकट वेबसाइट तथा डिजिटल भुक्तानी माध्यममार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।