काठमाडौंको कालिकानगरस्थित नेपालयको 'आर'शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
'काव्य-श्रवण' नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ।
नेपालयले यसअघि सञ्चालन गर्दै आएका 'पलेंटी' र पुस्तकसम्बन्धी कार्यक्रमसँगै अब कविता वाचन शृंखला पनि थप गरेको हो।
काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारूङका प्रश्नमा जवाफ दिँदै मनु मन्जिल कवितातिर अघि बढेका थिए।
श्रवण मुकारूङले सुरूमै मनु मन्जिलको कविता यात्राको आरम्भ विन्दुबारे प्रश्न गरेका थिए। मनु मन्जिलले भने, 'स्कुलमा लेखेको कविता कतै नछापिएपछि घरको ढोकामा गोबरले टाँसेँ। घर आउनेजाने कसैले प्रतिक्रिया दिएनन्। तर, मेरा एक जना गुरूले आमालाई भन्नुभयो, ‘यो कान्छो त ठूलो कवि बन्छ।’ त्यसपछि म कविता यात्रामा अघि बढेँ।'
श्रवण मुकारूङको दोस्रो प्रश्न थियो, 'विश्व काव्य साहित्यमा हामी कता छौं?'
मनुको विचारमा पश्चिमाहरू अहिले संरचनागत रुपमा चुस्त-दुरुस्त छन् तर भावनाको प्रवाह बलियो छैन तर नेपाललगायत दक्षिण एसियाका धेरै देशमा भावना तीव्र छ, संरचना चुस्त हुन सकेको छैन। सामाजिक–राजनीतिक परिवर्तन तीव्र भइरहने मुलुकमा काव्य पनि तीव्र भावमय भएको उनले सुनाए।
त्यसपछि मनु मन्जिलले आफ्ना विभिन्न कविता वाचन गरे। गाउँले एक बालक सम्झेर, उनी कविता जीवनको रङले लेख्छिन्, दुस्मन, घोडा, यो सहर कसको हो?, केटाकेटीहरु, तिमी मेरो क्यानभासमा, पहाड र पहिरो आदि कविता सुनाए। केही कविताका रचना पृष्ठभूमिबारे पनि उनले चर्चा गरे।
खचाखच दर्शकबीच सम्पन्न कार्यक्रममा उनले कविता वाचनसँगै आफ्ना सिर्जनात्मक अनुभव र विचारसमेत प्रस्तुत गरेका थिए।

प्रवेश शुल्कसहित आयोजना भएको सो कार्यक्रम हेर्न, सुन्न अनलाइनमार्फत टिकेट काटेर आउने काव्यप्रेमीको संख्या अत्यधिक थियो।
कार्यक्रममा सहभागी साहित्यप्रेमीलाई नेपालयले विगत साढे चार वर्षदेखि सञ्चालन गर्दै आएको ई-कविता शृंखलाको वार्षिक सदस्यता निःशुल्क हुने जानकारी गराइएको थियो। जस अन्तर्गत ई-कवितामा प्रकाशित, प्रसारित कविता निःशुल्क पढ्न सुन्न सकिनेछ।
इटहरीमा प्राध्यापन कर्ममा व्यस्त कवि मनु मन्जिलको 'ल्याम्प-पोस्टबाट खसेको जून' कविता संग्रह प्रकाशित छ।
कार्यक्रम सञ्चालक श्रवण मुकारूङले यो अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले दर्शक-श्रोतालाई स्वतः सदस्य बनाउने व्यवस्था गरिएको जानकारी दिए।
कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार साँझ साढे पाँच बजे नेपालयको 'आर'शालामा हुनेछ।
कार्यक्रमको दोस्रो शृंखलामा कवि स्वप्निल स्मृति प्रस्तुत हुने आयोजकले जनाएको छ।