जलरिका साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने 'बुद्धि-रेशम स्मृति स्रष्टा सम्मान २०८३' यस वर्ष चार जना स्रष्टालाई प्रदान गरिने भएको छ।
गीत संगीत विधामा संगीतकार मानिकरत्न स्थापित, समालोचना विधामा प्रा. डा. गोविन्दराज भट्टराई, आख्यान विधामा आख्यानकार नयनराज पाण्डे तथा काव्य विधातर्फ कवि तथा निबन्धकार मोमिला जोशीलाई सम्मानित गर्ने निर्णय गरेको प्रतिष्ठान अध्यक्ष जलेश्वरी श्रेष्ठले जानकारी दिइन्।
स्रष्टाहरूलाई नगद १ लाख रूपैयाँसहित ढलौट प्रतिमाबाट सम्मानित गरिनेछ।
प्रतिष्ठानका महासचिव रोशन थापा ‘नीरव’का अनुसार सम्मान समारोह यही जेठ ३१ गते आइतबार हुनेछ।
काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा कार्यक्रम आयोजना गरिएको छ।