स्वस्तिमा खड्का अभिनीत फिल्म 'लालीबजार' प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ।
गत वैशाख २५ गते रिलिज फिल्मले शुक्रबारदेखि छैटौं साताको प्रदर्शन आरम्भ गरेको हो।
‘लालीबजार’ यस वर्ष हालसम्म प्रदर्शन भएका नेपाली फिल्महरूमध्ये व्यावसायिक रूपमा सबभन्दा अगाडि देखिएको छ।
फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ। छैटौं सातामा पनि फिल्मले उल्लेख्य शो संख्या प्राप्त गरेकाले १० करोड रूपैयाँको आँकडा पार गर्ने निर्माण टिमको अपेक्षा छ।
षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा पनि रहेको छ।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मको डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट सुरू हुने भएको छ। फिल्म आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा प्रदर्शन गरिनेछ।
निर्माता खत्रीले नेपालमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि विदेश प्रदर्शनबारे चासो बढ्दै गएको बताए। उनले डेनमार्कबाट प्रदर्शन सुरू गरिन लागेको र अन्य देशमा समेत प्रदर्शनको तालिका छिट्टै सार्वजनिक गरिने बताए।
'लालीबजार' मा स्वस्तिमासहित रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनारलगायत कलाकारहरूको अभिनय छ।
यम थापाको कथा तथा निर्देशनमा बनेको 'लालीबजार'को पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।