फिल्म 'बाः एक योद्धा'को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मका मुख्य पात्र र कथाको संकेतसमेत उजागर गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य दुई पात्र तनावपूर्ण अवस्थामा देखिएका छन्।
यससँगै 'बा' को भूमिकामा को छन् भन्ने जिज्ञासाको अन्त्य गर्दै पोस्टरले अभिनेता दिव्य देव पन्तलाई 'बा'को रूपमा प्रस्तुत गरेको छ। चस्मा लगाएका उनी गम्भीर र तनावग्रस्त मुद्रामा देखिन्छन्।
उनीसँगै अभिनेत्री सुहाना थापा पनि पोस्टरमा देखिएकी छन्। सामान्य पहिरनमा गाउँतिर प्रयोग हुने झोला बोकेर हिँडिरहेकी सुहाना फिल्ममा ‘बा’की छोरीको भूमिकामा रहेको संकेत हुन्छ।
घरको भित्तामा टाँसेको फोटोमा चारजनाको सानो परिवार रहेको देखाउँछ। जहाँ एक छोरी, एक छोरा र बाबु-आमा छन्।
पृष्ठभूमिमा आकाशमा देखिएको हवइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। छेउमा मोटरसाइकल र पोस्टरको कलरले यसले मध्यमवर्गीय परिवारको कथा भन्ने संकेत गर्छ।
पोस्टरले सन्तानको भविष्यका लागि बुवाले गर्ने संघर्षलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ। साथै, दिव्य देवको अपोजिटमा झरना थापा रहेको र झरना तथा सुहाना फिल्ममा आमा-छोरीको भूमिकामा देखिने तथ्य पनि पोस्टरबाट खुल्छ।
पृष्ठभूमिमा देखिएको जग्गाधनी प्रमाणपूर्जा र छापले घरजग्गा धितो राखेर सन्तानका लागि पैसा जुटाउन संघर्ष गर्ने बुवाको कथा फिल्मले समेटेको हुन सक्ने अनुमान गर्न सकिन्छ। यसरी एउटै पोस्टरमार्फत फिल्मको कथावस्तुसँग सम्बन्धित धेरै संकेत सार्वजनिक गरिएको छ।
फिल्म 'बाः एक योद्धा' भदौ १९ गते रिलिज हुँदैछ।
फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको 'बाः एक योद्धा' कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैले लेखेका हुन्।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन मित्र डि. गुरूङले गर्दैछन्।