अभिनेता तथा निर्देशक माओत्से गुरूङ निर्देशित कथानक फिल्म 'पेन्सन पट्टा' को फर्स्टलुक सार्वजनिक गरिएको छ।
असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार सुरू गरेको हो।
सार्वजनिक पोस्टरहरूले फिल्मको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन्। यो फिल्ममा दयाहाङ राई र गौमाया गुरूङ मुख्य भूमिकामा छन्।
सार्वजनिक एक पोस्टरमा दयाहाङ र गौमाया गाउँको परिवेशमा प्रस्तुत छन्। गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ।
अर्को पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन्। डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ। प्राकृतिक सौन्दर्यबीचको उक्त दृश्यले फिल्मको भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ।
तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरूङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ।
समग्रमा पोस्टरहरूले 'पेन्सन पट्टा' पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभई नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको कथा बोकेको फिल्म रहेको संकेत दिन्छ।
माओत्से गुरूङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरूङले बताएका छन्।
फिल्ममा दयाहाङ र गौमायासहित बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरूङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, विश्वास गुरूङ, माया गुरूङ, सोल गुरूङ, मनोज गुरूङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय छ।
कथा तथा निर्देशन माओत्से गुरूङकै रहेको यस फिल्मको छायांकन सुशन प्रजापति, सम्पादन निमेश श्रेष्ठ र केर डी. कोइच लिनुचले गरेका हुन्।
मिन कोन्मे गुरूङ (यूके), भोजबहादुर गुरूङ (यूके), माया गुरूङ (हङकङ) र सपना गुरूङ निर्माता हुन्।
फिल्मको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।
निर्माण पक्षका अनुसार 'पेन्सन पट्टा' को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि उत्साहजनक रूपमा विभिन्न मुलुकमा बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।
हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको जनाइएको छ।
हरितालिका तीजको अवसर पारेर फिल्म देशभर प्रदर्शनमा आउने तयारीमा छ।

