अभिनेता तथा गायक रिहान गिरी नयाँ फिल्ममा अनुबन्ध भएका छन्। उनी बलिराम चौहानको निर्देशनमा निर्माण हुने फिल्म 'ल्याङ ल्याङ'मा एक मुख्य कलाकारका रूपमा अनुबन्ध भएका हुन्।
निर्माण टिमले सोमबार रिहानलाई फिल्ममा अनुबन्ध गरिएको जानकारी दिएको हो।
निर्देशक बलिराम चौहानले रिहान कथाअनुसार उपयुक्त पात्र भएकाले मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको बताए।
'रिहान हाम्रो कथाको पात्रसँग पूर्ण रूपमा मेल खाने कलाकार हुन्। त्यसैले उनलाई लिड भूमिकाका लागि छनोट गरेका हौं,' उनले भने।
'होस्टेल ३'बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका रिहान हाल फिल्म '६ माया छपक्कै २'को छायांकनमा व्यस्त छन्। अभिनयसँगै उनी गायनमा पनि सक्रिय छन् र विभिन्न गीतमा आफ्नो स्वर दिइसकेका छन्।
फिल्म 'ल्याङ ल्याङ' बलिरामको निर्देशकीय दोस्रो फिल्म हुनेछ। उनले गतवर्ष प्रदर्शन भएको 'द ब्ल्यू लाइट'बाट निर्देशनमा डेब्यु गरेका थिए।
उनले केही समय अगाडि थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै 'ल्याङ ल्याङ' निर्माणको घोषणा गरेका थिए। हाल उनी अन्य कलाकार तथा प्राविधिकको छनोटमा जुटिरहेका छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने 'ल्याङ ल्याङ'को स्लोगन 'हरेक युवाको कथा' रहेको छ। फिल्मले युवा पुस्ताको जीवन, सम्बन्ध र उनीहरूले भोग्ने मानसिक तनावको कथा प्रस्तुत गर्ने जनाइएको छ। युवा पुस्तामाझ प्रचलित ‘ल्याङ ल्याङ’ शब्दको अर्थ किचकिच, एउटै विषयमा बारम्बार दबाब वा तनाव सिर्जना गर्नु भन्ने बुझिन्छ।
'पालना गर्ने वाचा र बाँच्ने उद्देश्यः यो जीवनको लागि यति मात्र हो' भन्ने वाक्यसहित निर्देशकले थिम पोस्टर सार्वजनिक गरेका थिए। थिम पोस्टरले प्रेममा धोका खाएको एक युवाको कथालाई फिल्मले भन्ने संकेत गरेको छ।
'ल्याङ ल्याङ'को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन्।
