नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्म 'पार्वती' ले आफ्नो गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडिओ बनाउने दर्शकहरूका लागि पुरस्कार राशिसहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले उक्त गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ। उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा तीन जना विजेता छनोट गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, पाँच जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट पनि प्रदान गरिने जनाइएको छ।
सहभागीले भिडिओ पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग पार्वती, ह्यासट्याग भाद्र १२ र ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रूपमा प्रयोग गरेको हुनुपर्ने छ। उत्कृष्ट भिडिओ र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ।
सार्वजनिक गरिएको गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू नीता ढुंगाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरू विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्।
रत्यौलीको परिवेशमा तयार गरिएको गीतमा दीपाश्री पुरूषको भेषमा देखिएकी छन्।
नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरू विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतको अभिनय छ। फिल्मको निर्माता हरिहर अधिकारी हुन्।
फिल्म 'पार्वती' आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।