फिल्म 'बाः एक योद्धा'को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार 'चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स' बोलको गीत सार्वजनिक गरेको हो।
गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ। गीतले आफ्नो जन्मभूमि, बुवाआमा र विगत नबिर्सनुपर्ने सन्देश दिन्छ। रूख र जरा तथा माटो र पानीको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै सफलता पाएपछि पनि आफ्नो पहिचान र धरातल बिर्सन नहुने भाव व्यक्त गरिएको छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार दिव्यदेव, सुहाना थापा, झरना थापासहित अन्य कलाकारहरू देखिएका छन्। बाल्यकालदेखि सन्तान पराई घर र परदेश पुग्दासम्मको यात्रा तथा एक्लो बुवाको पीडा भिडिओमा समेटिएको छ। यो फिल्मले नेपाली समाजमा सन्तानका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौतीलाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शबी थापालगायतको अभिनय छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको 'बाः एक योद्धा' कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।
नेपाली संगीत क्षेत्रमा दर्जनौं सफल गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण फिल्मको निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्माता कृष्ण काफ्ले रहेका छन्।
डिओपी शिवराम श्रेष्ठको रहेको फिल्मको सम्पादन मित्र डि. गुरूङले गरेका हुन्।
'बाः एक योद्धा' भदौ १९ गतेदेखि प्रदर्शन तयारीमा छ।