प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्ध, अपराध र रहस्यको कथालाई फिल्ममा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको संकेत दिन्छ।
ट्रेलरमा एउटी आमाले आफ्नो छोरीको सुरक्षाका लागि गर्ने संघर्ष र त्यससँग जोडिएका रहस्यमय घटनाहरूलाई मुख्य रूपमा उठाएको छ। एक नेताकी छोरी बेपत्ता भएपछि उत्पन्न हुने परिस्थिति, प्रहरीको अनुसन्धान र विभिन्न पात्रहरूबीचको शंकास्पद सम्बन्धले कथालाई रोचक मोड दिने देखिन्छ। यसले फिल्म क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा केन्द्रित रहेको स्पष्ट पार्छ।
फिल्ममा शीर्ष भूमिकामा प्रियंका कार्की र सिम्रन खड्काको अभिनय छ। उनीहरू आमाछोरीको भूमिकामा छन्। साथमा आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, रक्षा थापा, सन्दीप क्षेत्रीलगायत कलाकारहरूको अभिनय छ।
सार्वजनिक ट्रेलरमा दीपकराज गिरी, जितु नेपाललगायत कलाकारहरू पनि देखिन्छन्। यी कलाकार अतिथि भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। राजेन्द्र मोक्तानको कलर रहेको ट्रेलरको ध्वनि मिश्रण मुकेश शाहले गरेका हुन्।
सुभेन्दु घोषको निर्देशन रहेको 'मास्टर्नी'को कथा प्रियंका कार्की स्वयंको हो। पटकथा शान बस्न्यातले तयार पारेका हुन् भने संवाद लेखनमा प्रियंका र शानको सहकार्य छ।
आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको 'मास्टर्नी' निर्मातामा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की छन्। कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार हुन्।
त्यस्तै, छायांकन युवराज इन्दोरियाको हो भने राजा सिंह सिदुको सम्पादन छ।
'मास्टर्नी' भदौ ५ गतेदेखि प्रदर्शन तयारीमा छ।