लामो समय 'हर्के हल्दार' पात्रबाट परिचित कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन्। उनी 'कमेडी बाज' कार्यक्रममार्फत पुनः टेलिभिजनमा देखिन लागेका हुन्।
पछिल्लो केही समय टेलिभिजन कार्यक्रमबाट टाढा रहेका सापकोटा 'कमेडी बाज'मा पर्फमरका रूपमा नियमित देखिनेछन्।
यो कार्यक्रम हरेक आइतबार राति ८ बजे ईमेज टेलिभिजनबाट प्रसारण हँदै आएको छ। उनले आफ्नै लोकप्रिय पात्र ‘हर्के हल्दार’ को गेटअपमा कमेडी प्रस्तुति दिने कार्यक्रमले जनाएको छ।
आउँदो आइतबार प्रसारण हुने नयाँ भागबाट उनी कार्यक्रममा देखिन लागेका हुन्।
कार्यक्रमका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालका अनुसार 'हर्के हल्दार' दर्शकमाझ अत्यन्त लोकप्रिय पात्र भएकाले विष्णु सापकोटालाई कार्यक्रममा ल्याइएको हो। उनले अब दर्शकले 'कमेडी बाज'मा नियमित रूपमा हर्के हल्दारको प्रस्तुति हेर्न पाउने बताए।
विष्णु सापकोटा लामो समय ‘हर्के हल्दार’ टेलिशृंखलामा आबद्ध थिए। उनी करिब चार वर्षअघि उक्त शृंखलाबाट अलग भए पनि शृंखला भने अझै प्रसारण हुँदै आएको छ।
खनालका अनुसार 'कमेडी बाज'को ढाँचामा पनि परिवर्तन गरिएको छ। यसअघि प्रतिस्पर्धात्मक (ब्याटल) शैलीमा सञ्चालन हुँदै आएको कार्यक्रम अब मुख्य रूपमा मनोरञ्जन केन्द्रित हुने र नयाँ प्रस्तुतिहरू समावेश गरिनेछ।