माओत्से गुरूङको निर्देशनमा बनेको फिल्म 'पेन्सन पट्टा'को टिजर सार्वजनिक भएको छ।
दयाहाङ राई र गौमाया गुरूङको मुख्य अभिनय रहेको यो फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरले ग्रामीण परिवेशमा आधारित सामाजिक कथावस्तुको संकेत दिन्छ। लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा टिजरले प्रस्तुत गरेको छ।
फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको टिजरले संकेत गर्छ।
टिजरमा दयाहाङ र गौमायासँगै अन्य कलाकारहरूलाई पनि देखाइएको छ। सुनिल थापा, विल्सनविक्रम राई, पशुपति राई, बुद्धि तामाङ, विश्वास गुरूङ, डीबी गुरूङ, माया गुरूङ, अनुशा राई, मनोज गुरूङ, लुनिभा तुलाधरलगायत कलाकारहरूलाई पनि टिजरमा देख्न सकिन्छ।
फिल्मको लेखन निर्देशक माओत्से गुरूङ स्वयंको हो।
उनी यथार्थपरक सामाजिक कथावस्तु प्रस्तुत गर्ने निर्देशकका रूपमा परिचित छन्। 'पेन्सन पट्टा'ले पनि त्यही शैलीलाई निरन्तरता दिएको संकेत टिजरले गरेको छ।
यसअघि फिल्मको पहिलो गीत 'जुनी जाला' सार्वजनिक भइसकेको थियो।
'पेन्सन पट्टा' को निर्मातामा मिन कोन्मे गुरूङ, भोजबहादुर गुरूङ, माया गुरूङ र सपना गुरूङ छन्।
यो फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।