२० वर्षमुनिका प्रतिभालाई लक्षित गर्दै चौथो 'युवा सर्ट फिल्म फेस्टिभल'को आह्वान गरिएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित प्रतियोगिताका लागि सर्ट फिल्म दर्ता खुला गरिएको हो।
प्रतियोगितामा प्रथम हुनेले एक लाख रूपैयाँ, द्वितीयले पचास हजार र तृतियले पच्चीस हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
साथै, सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको कलेजले जनाएको छ। पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेजमा अध्ययन गर्न चाहे ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कलेजद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ।
प्रतियोगीताका लागि आह्वान गरिएका सर्ट फिल्महरु कम्तीमा ८ मिनेट र बढीमा १५ मिनेटको हुनुपर्नेछ। फिल्म बुझाउनुपर्ने अन्तिम म्याद भदौ ८ गतेसम्म तोकिएको छ।
प्रतियोगितामा छनोट भएका उत्कृष्ट सर्ट फिल्मको प्रदर्शन तथा विजेताको घोषणा भदौ १५ गते गरिनेछ। सोही अवसरमा पुरस्कार वितरण समारोहसमेत आयोजना हुने जनाइएको छ।
युवा पुस्तालाई फिल्म निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आइरहेको अस्कर कलेजका प्राध्यापक रामराजा दहालले बताए।
नेपालमा आयोजना हुने युवालक्षित केही सर्ट फिल्म प्रतियोगितामध्ये यो एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित भइरहेको उनको भनाइ छ।
फेस्टिभल वार्षिक रूपमा अस्कर कलेज परिसरमा आयोजना हुँदै आएको छ।