फिल्म 'गौंथली' ले बक्स अफिसमा आक्रामक कमाइ जारी राखेको छ।
फिल्मले अहिलेसम्म १७ करोड ७१ लाख ६ हजार रूपैयाँ ग्रस कमाएको छ। साउन १ गते रिलिज फिल्मले साउन २४ गते आइतबारसम्म उक्त कमाइ गरेको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मका ७ लाख १५ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।
'गौंथली' यस वर्ष अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनिसकेको छ। यसले यसअघि प्रदर्शनमा आएका थुप्रै चर्चित फिल्महरूको बक्स अफिस कमाइलाई समेत पछि पारेको छ।
अहिलेसम्मको अवस्थामा यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको चौथौं स्थानमा आइपुगेको छ। यसले 'जारी' (१७ करोड ४८ लाख), 'छक्का पञ्जा ४' (१७ करोड ५३ लाख), 'परान’' (१७ करोड ७६ लाख) को लाइफटाइम कमाइलाई समेत उछिन्दै उक्त स्थान बनाएको हो।
अब 'गौंथली' भन्दा अगाडि सर्वाधिक कमाउने तेस्रो नम्बरमा '१२ गाउँ' (१९ करोड ९२ लाख) छ। सर्वाधिक कमाउने पहिलो नम्बरमा 'पूर्णबहादुरको सारंगी' (४६ करोड ८७ लाख) र दोस्रोमा 'कबड्डी ४' (२१ करोड ४० लाख) रहेको छ।
आगामी सातासम्ममा 'गौंथली' ले '१२ गाउँ' र 'कबड्डी ४' को लाइफटाइम कमाइलाई समेत पछि पार्ने प्रक्षेपण गरिएको छ।
कपिल रिजाल निर्देशित 'गौंथली' मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। फिल्मका निर्माता सुमन गिरी र कपिल रिजाल हुन्।