कमेडी एक्ट-आधारित रियालिटी शो 'सुपर कमेडी लिग'को घोषणा गरिएको छ। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको घोषणा गरिएको हो।
आयोजक ओपन डोर्स इन्टरटेन्मेन्टले शोलाई नेपालको पहिलो कमेडी एक्ट-आधारित रियालिटी शो भएको दाबी गरेको छ।
हास्यव्यंग्यमा आधारित यस रियालिटी शोमा अभिनेता राजेश हमाल 'लिग प्रेसिडेन्ट'को भूमिकामा रहनेछन्। कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहनेछन्।
कार्यक्रमका लागि पाँच सहरमा अडिसन सञ्चालन गरिने भएको छ। साउन २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरास्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन सञ्चालन हुनेछ।
अडिसनबाट छनोट हुने ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनहरूले गर्नेछन्।
नेपालबाहिर रहेका वा अडिसनमा सहभागी हुन नसक्ने नेपालीभाषी इच्छुक प्रतिभाले डिजिटल अडिसनमार्फत पनि सहभागी हुन सक्नेछन्।
'सुपर कमेडी लिग' समूहमा आधारित प्रतिस्पर्धात्मक ढाँचामा सञ्चालन हुनेछ। एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। स्केच, स्किट र ड्रामेडी शैलीका प्रस्तुतिहरू कार्यक्रमको मुख्य आकर्षण रहनेछन्।
कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन्। उनले नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगी बुगी, मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सलगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो निर्देशन गरिसकेका छन्। पत्रकार सम्मेलनमा उनले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रम राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण हुनेछ भने डिजिटल प्रसारण ओएसआरमार्फत गरिनेछ। पर्दापछाडिका सामग्री सारंगी मिडियामार्फत सार्वजनिक गरिने जनाइएको छ।
निर्माण पक्षका अनुसार 'सुपर कमेडी लिग'को नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुनेछ।
पारिवारिक मनोरञ्जनमा केन्द्रित यस कार्यक्रमले नेपाली दर्शकलाई नयाँ शैलीको हास्य मनोरञ्जन प्रदान गर्ने बताइएको छ।