सुशील सिटौला र न्यान्सी खड्का अभिनीत फिल्म 'अक्षरा'को टिजर सार्वजनिक भएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्मको टिजर 'मुभिज डिजिटेनमेन्ट' युट्युबमार्फत सार्वजनिक गरिएको हो।
टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र घरेलु हिंसाको कथा प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि नबुझी धनसम्पत्ति र बाह्य आकर्षणका आधारमा छोरीको विवाह गराउँदा निम्तिने दुःखद परिणामलाई टिजरले केन्द्रमा राखेको छ।
फिल्ममा सुशील पोखरेल बुबा र न्यान्सी खड्का उनकी छोरीको भूमिकामा देखिएका छन्। सुशील सिटौला न्यान्सीका श्रीमानका रूपमा प्रस्तुत भएका छन्, जसले रक्सीको लतमा परेर श्रीमतीमाथि हिंसा गर्ने पात्रको भूमिका निभाएका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) हुन्। निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्।
फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।
'अक्षरा' मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारीलगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको फिल्म गौतम खड्काले सम्पादन गरेका हुन्। टिजर तथा ट्रेलरको काम साहिल खानको हो।
'अक्षरा' भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।