वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण'मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्।
निर्माण टिमले उनलाई हरिवंश आचार्यकी पत्नी रमिला पाठकको भूमिकाका लागि अनुबन्ध गरेको हो।
हरिवंशको भूमिकामा यसअघि नै अभिनेता अरूण क्षेत्री अनुबन्धित भइसकेका छन्। अरूण र वर्षाले पहिलोपटक एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन्।
'हामीले अरूणको अपोजिटमा वर्षा राउतलाई लिएका छौं। उहाँले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,' निर्देशक मिलन चाम्सले भने।
निर्देशक चाम्सले हरिवंश आचार्यको जीवनमा आधारित बन्ने आगामी बायोपिकमा पनि रमिला पाठकको भूमिकामा वर्षा नै रहने जानकारी दिए। हरिवंशको बायोपिकमा मुख्य भूमिकामा यसअघि अरूण पनि अनुबन्धित भइसकेका छन्।
'म मदनकृष्ण'मा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका संघर्ष र आरोह-अवरोह समेटिनेछ।
फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने केकी अधिकारी उनकी पत्नी यशोदाको भूमिकामा देखिनेछिन्। साथै राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको 'म मदनकृष्ण'का निर्माता राजकुमार श्रेष्ठ हुन्।
निर्देशक मिलन चाम्सले गतवर्ष राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म 'अञ्जिला' निर्देशन गरेका थिए।