बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म 'ल्याङ ल्याङ'को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हुनेछ।
यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरेकी थिइन्।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन्। प्रशिक्षणका क्रममा उनले अभिनयका विभिन्न पक्षमा काम गरेकी थिइन्। उनले विज्ञापन, म्युजिक भिडियो तथा हरर फिल्म 'मम्मी'मा पनि अभिनय गरिसकेकी छन्।
पात्रअनुसार उपयुक्त देखिएपछि बुधबार निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्धित गरेको निर्देशक चौहानले बताए।
यसअघि नै फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। निर्माण टिम अझै एक अभिनेताको खोजीमा रहेको र उनी फाइनल भएपछि मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले जानकारी दिए।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने 'ल्याङ ल्याङ'ले जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मानसिक दबाबको कथा प्रस्तुत गर्नेछ। युवापुस्ताले साथीभाइबीच मानसिक तनाव वा दबाब जनाउन प्रयोग गर्ने 'ल्याङ ल्याङ' शब्दलाई आधार बनाएर फिल्मको कथा निर्माण गरिएको निर्देशकको भनाइ छ। फिल्मको स्लोगन 'हरेक युवाको कथा' राखिएको छ।
छोरी गुराँस मुख्य भूमिकामा अनुबन्धित भएपछि उनकी आमा तथा कलाकार रिना ढकालले सामाजिक सञ्जालमा भावुक पोस्ट लेखेकी छन्। उनले छोरी सात महिनाकी हुँदा नै नाटकमा अभिनय गराएको र सानैदेखि उनलाई कलाकार बनाउने सपना बोकेको उल्लेख गरेकी छन्।
भोलानाथ कटवालको लगानीमा निर्माण हुने 'ल्याङ ल्याङ' असोजको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ। फिल्मको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
हाल फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको निर्माण टिमले जनाएको छ।