निर्देशक सुदर्शन थापाको नयाँ फिल्म 'शुभ विवाह'को औपचारिक घोषणा गरिएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरिएको हो। साथै निर्माण कम्पनी प्रियादर्शन फिल्म्सको पनि औपचारिक घोषणा गरिएको छ।
प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। यसअघि निर्देशक सुदर्शन थापा र प्रदीप खड्काले सफल फिल्म 'प्रेम गीत'मा सहकार्य गरेका थिए। प्रदीप र सुदर्शनसँग सनिशाको भने पहिलो सहकार्य हो।
'शुभ विवाह'मा प्रदीप र सनिशासहित हरिहर शर्मा, वसुन्धरा भुसाल, सुनिशा बजगाईँ, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्राचार्यलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मको निर्माण सुप्रिया कटुवालले गर्दैछिन् भने साम भुजेल कार्यकारी निर्माता हुन्। कथा प्रदीप श्रीवास्तवको तथा पटकथा र संवाद रामशरण पाठकले लेखेका छन्। संगीत अर्जुन पोखरेल, पार्श्वसंगीत रेभन आरती सिंह, छायांकन राजेश श्रेष्ठ, सम्पादन मिलन श्रेष्ठ र नृत्य निर्देशन विक्रम स्वारले गर्नेछन्।
रोमान्टिक कथावस्तुमा आधारित 'शुभ विवाह'को छायांकन छिट्टै सुरू गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
फिल्म आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

