पछिल्लो चार सातादेखि नेपाली बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको फिल्म 'गौंथली' पाँचौं सातामा प्रवेश गरेको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि पाँचौं सातामा प्रवेश गरेको हो। चौथौं सातापार गर्दासम्म यसले बक्स अफिसमा २१ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको छ।
'गौंथली'को यो बलियो प्रदर्शनकाबीच नयाँ नेपाली फिल्म 'लज्जावती' प्रदर्शनमा आएको छ। सामाजिक-रोमान्टिक जनराको फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो। तर, यसको अग्रिम टिकट बुकिङ र शोको अकुपेन्सी भने सुखद् देखिँदैन।
अब दर्शकबाट प्राप्त हुने प्रतिक्रिया र वर्ड अफ माउथले नै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ।
राजबहादुर सानेको निर्देशनमा बनेको 'लज्जावती'मा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्यलगायत कलाकारहरूको अभिनय छ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको 'लज्जावती'को रनटाइम १३३ मिनेट छ।
फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् भने निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोका रहेका छन्।