अविनाशविक्रम शाह निर्देशित फिल्म 'तिनीहरू: एलिफेन्ट्स इन द फग'ले घरेलु बक्सअफिसमा सुखद् व्यापार गरेको देखिएको छ।
प्रदर्शनको १० दिन (आइतबार)सम्ममा फिल्मले देशभरबाट ८५ लाख ९५ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको हो। सोही अवधिसम्म फिल्मलाई देशभरका हलमा २४ हजार ४८६ दर्शकले हेरेका छन्।
अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट चर्चा बटुलेर नेपाली दर्शकमाझ आएको 'तिनीहरू' अहिले दोस्रो साताको प्रदर्शनमा छ।
यो फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बस्ने परिवारको कथामार्फत अल्पसंख्यक समुदायको जीवन, आमा-छोरीको सम्बन्ध र मानवीय संवेदनालाई प्रस्तुत गर्छ।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, साहबदिन मिया, उमिषा पाण्डे, गौरी मल्ल, माओत्से गुरूङ, महिमा नवबाग, आकांक्षा कार्की, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहकार्यमा निर्माण भएको यो फिल्मले प्रदर्शनअघि नै विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। फिल्म कान्सको 'अन सर्टेन रिगार्ड' विधामा छनोट हुनुका साथै जुरी पुरस्कार जित्न सफल भएको थियो।
यस्तै यो फिल्म सन् २०२७ मा आयोजना हुने ९९ औं एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट आधिकारिक रूपमा सिफारिस भइसकेको छ।
यससँगै कान्समा इतिहास रचिसकेको 'तिनीहरू'ले अब अस्करमा नेपालको प्रतिनिधित्व गर्नेछ।
फिल्मले घरेलु बक्सअफिसमा गरेको व्यापारलाई पनि सुखद् मानिएको छ।
'तिनीहरूः एलिफेन्ट्स इन द फग' नेपालमा भदौ १९ गते रिलिज भएको थियो।