दुई प्रतीक्षित नेपाली फिल्म '१२ गाउँ २' र 'आचार्य'को गीत सार्वजनिक भएका छन्।
विराज भट्ट निर्देशित '१२ गाउँ २'को पहिलो गीत ‘जुनेली’ सोमबार सार्वजनिक भएको हो। त्यस्तै, निखिल उप्रेतीको निर्देशनमा बनेको 'आचार्य'को रोमान्टिक गीत 'लै बरी लै' मंगलबार बिहान सार्वजनिक भएको छ।
'१२ गाउँ २'को गीतको भिडिओमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही (काफिया) फिचर्ड छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर छ। भिडिओमा समीर र कृशुको ब्रेकडान्ससहितको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।
लामो समयपछि नेपाली फिल्ममा ब्रेकडान्सलाई विशेष रूपमा प्रस्तुत गरिएको दाबी निर्माण टिमको छ। फिल्मको फर्स्टलुकपछि दर्शकमाझ बनेको चर्चालाई गीतले थप बढाउने अपेक्षा गरिएको छ।
यस्तै, 'आचार्य'को गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन्। एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई गीतमा भने रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई देखाइएको छ। यस गीतका गायक गौराङ्गा शेखर शर्मा र ज्योत्सना जावडा हुन् भने शब्द तथा संगीत युग भुसालको हो।
'आचार्य'मा निखिलसँगै पूर्णिका सिजापती, दीप राज राणा, प्रमोद अग्रहरी, रघु बाबु, रघु करूमान्ची, रोहित चौधरी, ध्रुव कोइराला, रञ्जित कोइरालालगायत कलाकारहरूको अभिनय छ। पूर्णिका यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् भने रघु बाबू र रघु करूमन्ची दक्षिण भारतीय कलाकार हुन्। त्यस्तै, बलिउड कलाकार दीपराज राणा र रोहित चौधरीले पनि फिल्ममा अभिनय गरेका हुन्।
'१२ गाउँ २'मा समीर र कृशुसहित विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, प्रकाश शाह, खुसी कार्की, वर्षा ईटानी, कालु राना, सुधिर श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।
सरस्वती भट्टको लगानी रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन्। छायांकन महेश पौडेलको छ भने द्धन्द्ध स्टन्ट सिल्भा र शंकर महर्जन, सम्पादन बन्दे प्रसादको छ।
त्यस्तै, ‘आचार्य’को छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन्। फिल्ममा शुक्रराज शाहको द्धन्द्ध निर्देशन र बन्दे प्रसादको सम्पादन छ।
'आचार्य' असोज ९ गतेदेखि प्रदर्शन तयारीमा छ भने '१२ गाउँ २' असोज ३० गते फूलपातीको दिन रिलिज हुँदैछ।