सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र 'रोड टु एभरेस्ट'को आइतबार हङकङमा विशेष प्रदर्शन गरिएको छ।
हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा आयोजित प्रदर्शनमा नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी र इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शक सहभागी थिए।
खचाखच दर्शक उपस्थित प्रदर्शनमा सहभागीले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गरे।
५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ।
वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरूङको सगरमाथा आरोहण यात्रा छ। प्रदर्शनमा वृत्तचित्रका पात्र तथा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, निमा ग्याल्जेन शेर्पा, विनोद गुरुङ र सुरज गुरूङ पनि सहभागी थिए। फुर्वाले १८ पटक र निमाले ११ पटक सगरमाथा आरोहण गरिसकेका छन्। हङकङबाट सगरमाथा आरोहण गरेका आधा दर्जन चिनियाँ आरोहीसमेत प्रदर्शनमा सहभागी थिए।
निर्देशक निर्मल श्रेष्ठले 'रोड टु एभरेस्ट' सगरमाथालाई चिनाउनेभन्दा पनि बुझाउने प्रयास भएको बताए। ‘सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो,’ उनले भने। वृत्तचित्र भावी पुस्ताका लागि समेत महत्वपूर्ण दस्तावेज बन्ने उनको भनाइ छ।
वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरूङले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरिरहेका परिवर्तनबारे वृत्तचित्रले महत्वपूर्ण सन्देश दिएको बताए।
वृत्तचित्रलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमार्फत विश्व समुदायसम्म पुर्याउने तयारी भइरहेको उनले जानकारी दिए।
वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको वृत्तचित्रको नेपालमा विशेष प्रदर्शनपछि हङकङमा अन्तर्राष्ट्रिय प्रदर्शन गरिएको हो।
निर्माण पक्षका अनुसार अब यसलाई विभिन्न देशका फिल्म फेस्टिभल, विशेष प्रदर्शन तथा सिनेमा हलमा पुर्याउने तयारी भइरहेको छ।

