दाङको तुलसीपुरमा अर्को एउटा नयाँ सिनेमा हल निर्माण सुरू गरिएको छ।
केही समय पहिले भत्काइएको ‘विष्णु चलचित्र हल’ मा नयाँ सिनेमा हल निर्माणको कार्य औपचारिक रूपमा सुरू भएको हो।
अभिनेता अर्जुन श्रेष्ठ र तुलसीपुरका प्रतिष्ठित व्यवसायी उत्तमकुमार श्रेष्ठ दाजुभाइले तुलसीपुर उपमहानगरपालिका–६ डुर्मीगाउँस्थित साविक विष्णु चलचित्र रहेकै ठाउँमा नयाँ सिनेमा हल निर्माण कार्य थालनी गरेका हुन्।
व्यवसायी उत्तमका अनुसार सोमबार निर्माणाधीन सिनेमा हलको जग पूजा गरी शिलान्यास गरी निर्माण कार्यको थालनी गरिएको हो।
नयाँ सिनेमा हल निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य लिइएको छ। ५ तले हल निर्माण गर्न झन्डै २० देखि २४ करोड लागत अनुमान गरिएको छ।
यहाँ सपिङ मल, सिनेमा हल निर्माणको जिम्मा तुलसीपुरकै निर्माण व्यवसायी गेहेन्द्र गिरीले पाएका छन्।
‘हामीले आवश्यक सामग्री किनेर दिने हो,’ उत्तमले भने, ‘गेहेन्द्रजीले हल निर्माण गरी हामीलाई हस्तान्तरण गर्नु हुनेछ। निर्माण गर्दै जाँदा कति खर्च लाग्छ ठ्याक्कै अहिले नै अनुमान गर्न मुस्किल छ।’
उत्तम श्रेष्ठका अनुसार सबैभन्दा तल्लो तलामा सपिङ मल रहनेछ। त्यसपछि बीचको तला भाडामा दिने भन्ने सल्लाह भइरहेको श्रेष्ठले बताए।
सबैभन्दा माथिल्लो तलामा सिनेमा हल निर्माण गर्ने गरी डिजाइन गरिएको उनले बताए।
विगतमा पनि यही ठाउँमा श्रेष्ठ परिवारले यो आफ्नै जग्गामा सिनेमा हल सञ्चालन गरेको थियो।
त्यो पुरानो हलमा सादा पर्दाको सिनेमा मात्रै प्रदर्शन हुन सक्थ्यो। त्यही हुनाले त्यसलाई अघिल्लो वर्ष मात्रै भत्काइएको हो। अब समय सुहाउँदो अत्याधुनिक सिनेमा हलका साथै सपिङ मल एकै छानोमुनि सञ्चालन गर्ने गरी आधुनिक संरचना निर्माण थालिएको श्रेष्ठ परिवारले जनाएको छ।
‘यो हाम्रो पुरानो पेसा हो,’ उत्तमले भने, ‘हाम्रै परिवारले सबैभन्दा पहिला घोराहीमा सिनेमा हल निर्माण गरी सर्वसाधारणलाई मनोरञ्जन दिने कामको थालनी गरेको हो।’
भाइ अर्जुन श्रेष्ठ चिरपरिचित अभिनेता हुन्। उनी आफै निर्माता पनि हुन्।
‘पछिल्लो समय तुलसीपुरमा आम सर्वसाधारणलाई मनोरञ्जन गर्न मिल्ने गतिलो ठाउँ भएन,’ उनले भने, ‘त्यसको परिपूर्ति गर्न फेरि पहिलेकै ठाउँमा आधुनिक सिनेमा हल निर्माण गरौं भनेर जुटेका छौं।’
भाइ अर्जुन आफैं चलचित्र क्षेत्रमा वर्षौंदेखि लाग्दै आउनु र आफ्नो परिवारले जिल्लामा सुरूवात गरेको मनोरञ्जनको विधालाई फेरि अगाडि बढाउने सल्लाह भएको उनले बताए।
श्रेष्ठ परिवारको घोराहीमा पनि स्वर्गद्वारी चलचित्र हल छ। त्यसलाई पनि समयको माग अनुरूप थप आधुनिक बनाउने कार्य सुरू गरिएको यसअघि नै अभिनेता अर्जुन श्रेष्ठले बताएका थिए।
पुरानो सिनेमा हल भत्काएर आधुनिक सिनेमा हल निर्माण गर्नुको उद्देश्य तुलसीपुरको सम्भावना थप उजागर गर्नु मात्रै नभई अरूका लागि रोजगारीका अवसरहरू पनि सिर्जना गर्नु रहेको उनले बताएका थिए।
तुलसीपुरमा सिनेमा हल निर्माण गर्नकै लागि विदेशबाट स्वदेश फर्किन नचाहेका छोरालाई फकाएर स्वदेशमा बोलाइएको पनि उत्तमले बताएका थिए।
यसअघि नै तुलसीपुर–६ मै दुई वटा आधुनिक सिनेमा हल निर्माणाधीन अवस्थामा छन्।
दाङको नारायणपुरमा सिनेमा हल सञ्चालन गर्दै आएको समूहले तुलसीपुर–६ को बरूवा गाउँमा झन्डै २२ करोड लागतमा भिएफएक्स सिनेमा हल निर्माण कार्य मंसिरदेखि जारी राखेको छ।
जसमा अमेरिकामा बस्दै आएका चलचित्रकर्मी अनिल बुढाथोकी र बसन्त लम्सालको संयुक्त लगानी छ।
त्यस्तै, तुलसीपुर–६ को रजौरामा झन्डै १८ करोड जति लगानीमा आधुनिक सिनेमा हल निर्माण कार्य धमाधम चलिरहेको छ।
यी दुवै सिनेमा हलका भौतिक संरचना धमाधम निर्माण कार्य अगाडि बढेका छन्।
रजौराको सिनेमा हल घोराही उपमहानगरपालिका–८ सौंडीकुलामा सिनेमा हल सञ्चालन गर्दै आएको समूहले निर्माण गरिरहेको छ। सौंडीकुलाको त्यो ‘भिएफएक्स सिनेमाज’ युवा चेतन राना सहितको समूहले सञ्चालन गर्दै आइरहेको छ।
रानाका अनुसार रजौरामा निर्माणाधीन सिनेमा हलमा ‘भिएफएक्स सिनेमाज’ को ८० प्रतिशत सेयर रहनेछ। तुलसीपुर क्षेत्रका रन्दिप न्यौपाने लगायत अन्य ६ जना जतिको २० प्रतिशत सेयर छ।
भौतिक निर्माणको कार्य धमाधम अगाडि बढाइएका दुई वटै सिनेमा हलका निर्माणकर्ताले करिब पाँच सय सिट क्षमताका सिनेमा हलहरू निर्माण गरिने बताएका छन्।
तीमध्ये रजौराको सिनेमा हल निकट अबको दुई तीन महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको लगानीकर्ताले बताएका छन्।
साविक राप्तीको अञ्चल सदरमुकाम तुलसीपुरमा सबैभन्दा पहिले २०५० सालतिर नेपाली कांग्रेस नेता धुर्वराज पुरीले ‘ऊँ शान्ति सिनेमा हल’ निर्माण गरी सञ्चालनमा ल्याएका थिए। यद्यपि साधा पर्दाको त्यो सिनेमा हल पछिल्लो समय सञ्चालनमा छैन। झन्डै एक दशकदेखि उक्त सिनेमा हलको संरचना उपयोगविहीन छ।
समयको मागसँगै पुरानो सिनेमा हल विस्थापित भएको हुँदा पुरी परिवारले पुरानो संरचना विस्थापित गरी नयाँ सिनेमा हल बनाउँछ वा के गर्छ? भन्ने निश्चय गरिसकेको छैन।
तुलसीपुर झन्डै एक दशकदेखि सिनेमा हलविहीन रहँदा एकैसाथ तीन वटा सिनेमा हल निर्माणको काम अगाडि बढेको छ। त्यसले सिने प्रेमीहरू उत्साहित बनेका छन्।
यी हलहरू निर्माण पूरा भई भविष्यमा सञ्चालनमा आएमा तुलसीपुरबासी सिनेमा हेर्नकै लागि घोराही, जिल्ला बाहिर नेपालगञ्ज वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने छ। यी हलहरूमा स्थानीयले रोजगारी पाउने अपेक्षा गरिएको छ।
यो पनि: झन्डै २४ करोडमा तुलसीपुरमा बन्दै सिनेमा हल