नेपाली लघु चलचित्र 'चुम्पाः अ डल अन्डर द बास्केट' दक्षिण कोरियामा आयोजना हुने ३१ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ।
राजेश प्रसाद खत्रीको लेखन तथा निर्देशन रहेको चलचित्र 'एसियन सर्ट कम्पिटिसन'अन्तर्गत 'वाइड एङ्गल' सेक्सनमा आधिकारिक रूपमा छनोट भएको हो।
२० मिनेट लामो चलचित्रले नेपालको दुर्गम ग्रामीण क्षेत्रमा अझै कायम रहेको बालविवाह र त्यसले किशोरीको शिक्षा तथा स्वतन्त्रतामा पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ।
चलचित्रकी १४ वर्षीया मुख्य पात्र मुना कक्षा ८ मा अध्ययनरत प्रतिभाशाली किशोरी हुन्। पढाइ पूरा गरेर स्वतन्त्र जीवन जिउने उनको सपना परिवार र समुदायको परम्परागत सोचका कारण संकटमा पर्छ। जबर्जस्ती विवाहका लागि तयार पारिएकी मुना विवाहकै दिन शिक्षिकाको घरमा पुगेर सहयोग माग्छिन्। तर गाउँलेहरूले उनलाई त्यहाँबाट निकालेर पुनः विवाहको प्रक्रियामा फर्काउँछन्।
चलचित्रले बालविवाहसँगै ग्रामीण समाजमा महिलामाथि हुने सामाजिक दबाब, शिक्षाको पहुँच र परम्पराका नाममा हुने लैंगिक विभेदलाई संवेदनशील तथा प्रतीकात्मक शैलीमा प्रस्तुत गरेको छ। चलचित्रमा ‘चुम्पा’ नामको परम्परागत पुतलीलाई हराएका आवाज र महिला प्रतिरोधको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
खस भाषामा छायांकन गरिएको चलचित्रको छायांकन पश्चिम-उत्तर नेपालको ग्रामीण क्षेत्रमा गरिएको हो। प्राकृतिक प्रकाश, वास्तविक लोकेसन र न्यून उपकरणको प्रयोगमार्फत चलचित्रलाई यथार्थपरक बनाइएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा कबिता बुढाले मुनाको भूमिका निर्वाह गरेकी छन्। बिनिता थापा मगर र मीरा खड्का शिक्षिकाको भूमिकामा छन् भने दिपेश मल्लले बेहुलाको भूमिका निभाएका छन्।
'चुम्पा'का लेखक तथा निर्देशक खत्री स्वअध्ययनबाट फिल्म निर्माणमा आएका प्राथमिक विद्यालयका शिक्षक हुन्। उनको पहिलो लघु चलचित्र 'अ क्युरियस गर्ल'ले सन् २०१८ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको 'जेनेरेसन केप्लस' विधामा 'बेस्ट फिल्म' अवार्ड जितेको थियो।
उनको दोस्रो चलचित्र 'अ स्केरक्रो'ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रिमियर गरेको थियो।
पिक्चर फ्रेम र फ्लिकर आर्टस् इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको 'चुम्पाः अ डल अन्डर द बास्केट' का निर्माता केदार भुसाल, क्रिएटिभ प्रोड्युसर दिनेश राउत तथा कार्यकारी निर्माता एवं प्रोडक्सन डिजाइनर रामलाल खड्का हुन्।
छायांकन शरद महतो, सम्पादन पासाङ दावा शेर्पा र किरण श्रेष्ठ, लोकेसन साउन्ड तथा साउन्ड डिजाइन विपिन स्थापित, कलर ग्रेडिङ दिपेश चौधरी तथा संगीत सरून मानन्धर र सबिन महर्जनको छ।
पिक्चर फ्रेम र फ्लिकर आर्टस् इन्टरटेनमेन्टले यसअघि निर्माण गरेको चलचित्र 'रिहाना' सन् २०२५ को बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको थियो।