नेपालबाट आगामी अस्कर अवार्डका लागि सिफारिस भएको फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोग जुटाउन फ्रान्समा विशेष च्यारिटी स्क्रिनिङ गर्ने भएको छ।
कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा 'जुरी प्राइज' जितेको फिल्म फ्रान्समा आगामी सेप्टेम्बर २३ मा रिलिज हुँदैछ। त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना गरिने निर्माण पक्षद्वारा जारी विवरणमा उल्लेख छ।
'एलिफेन्ट्स इन द फग'का निर्मातासमेत रहेका प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन्। श्रेष्ठको घर समेत बाढीले क्षति पुर्याएको थियो।
निर्देशक अविनाश विक्रम शाहको उपस्थितिमा हुने विशेष प्रदर्शन 'नेपालसँगको ऐक्यबद्धता' अभियानअन्तर्गत आयोजना गर्न लागिएको हो।
प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपाल सरकारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि स्थापना गरेको कोषमा प्रदान गरिने जनाइएको छ। फ्रान्सका लागि नेपालका राजदूतसमेत कार्यक्रममा उपस्थित हुने विज्ञप्तिमा उल्लेख छ।
निर्देशक शाहले पेरिसबाट समेत फिल्मको स्क्रिनिङमार्फत भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न लागिएको बताएका छन्।
यसअघि फिल्मको टोलीले नेपालमै बाढीपीडितको सहयोगार्थ काठमाडौंमा विशेष स्क्रिनिङ आयोजना गरेको थियो। उक्त प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको निर्माण पक्षले जनाएको छ।
यो फिल्म अहिले नेपालमा प्रदर्शनरत छ। फिल्म जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित छ। फिल्मलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको निर्माण पक्षको दाबी छ।
फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरूङ, आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय छ।