नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म 'टनेल २६ः द कर्स बिनिथ द माउन्टेन' अक्टोबर ९ अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
फिल्म नेपाल र भुटानका हलमा फिल्म उक्त मितिदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण टिमले शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
फिल्मको ट्रेलर भने यही मंगलबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट फिल्मका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता-निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहितको सहकार्य रहेको छ।
सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरूङ देखाइएको छ। सुरूङभित्र केही पात्रलाई देखाइएको पोस्टरले फिल्म जम्बी तथा हरर कथामा आधारित रहेको संकेत गर्छ। ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’ फिल्मको मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ।
फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी ल्हामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।
दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। ‘टनेल २६’ प्रदीपको चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।
नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी निर्माण टिमको छ। एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत फिल्म प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ।
फिल्म छायांकन दीर्घ गुरूङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक हुन्।
कृष्ण शर्मा प्रोडक्सन डिजाइनर, पेमा ल्हामो प्रोडक्सन म्यानेजर तथा ब्लु छेरिङ दोर्जी कस्टयुम हेडमा रूपमा छन्।
फिल्मको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। फिल्मको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.लि.ले गरेको हो।
'टनेल २६'को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो।