सहरका पुराना मिथक, कथा तथा किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल अभिलेख तयार गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले 'कथा डबली' शृंखला सुरू गर्ने भएको छ।
'कथा डबली-१' अन्तर्गत काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रासँग जोडिएका मिथक र किंवदन्ती सुनाउने कार्यक्रम हुनेछ। यो कार्यक्रम असोज ८ गते बिहीबार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना हुन लागेको हो।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔं पुराना कथा, मिथक तथा किंवदन्ती वाचन गर्नेछन्। उनले काठमाडौं सहरको उत्पत्ति र सांस्कृतिक वैभवसँग सम्बन्धित कथा पनि प्रस्तुत गर्नेछन्।
सांस्कृतिक स्मृति थप जीवन्त बनाउन 'इन्द्रजात्राः शारदीय पर्व' कार्यक्रममा परम्परागत नृत्य पनि प्रस्तुत गरिनेछ। सो अवसरमा कलाकारले उपत्यकाको प्रसिद्ध 'लाखे प्याखं' (लाखे नाच) र 'कुमारी नृत्य' पनि मञ्चन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागका प्रमुख दीपक सापकोटाले बताए।
'सहर-गाउँका लोपोन्मुख मौखिक इतिहास, लोककथा र सांस्कृतिक सम्पदा जीवन्त राख्न अनि प्रविधि प्रयोग गरी तिनलाई सुरक्षित अर्काइभ गर्न यो शृंखला सञ्चालन गरिएको हो,' उनले भने।
प्रतिष्ठानका अनुसार 'कथा डबली' शृंखला आगामी दिनमा नेपालका विभिन्न सहर तथा गाउँमा समेत निरन्तर आयोजना गरिनेछ।