एकसाथ रिलिज भएका फिल्म 'पेन्सन पट्टा' र 'बेहुली'को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पहिलो १० दिनको रिपोर्टअनुसार कमाइमा 'पेन्सन पट्टा' धेरै अगाडि देखिएको छ। आइतबारसम्म यो फिल्मले ३ करोड ७९ लाख ७६ हजार ७४ रूपैयाँ ग्रस कमाएको छ। उक्त कमाइ हुँदा फिल्मका १ लाख २९ हजार १ सय १८ टिकट बिक्री भएका छन्।
माओत्से गुरूङ निर्देशित 'पेन्सन पट्टा'मा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।
त्यस्तै, सशान कँडेल निर्देशित 'बेहुली'ले १० दिनमा २ करोड ६८ लाख २८ हजार ५२९ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ९४ हजार ८ सय ८५ टिकट बिक्री भएका छन्।
प्रेम तथा पारिवारिक ड्रामा जनरामा बनेको 'बेहुली'मा पारस बम ठकुरी ‘कुल ब्वाइ’ र दिव्या रायमाझी मुख्य भूमिकामा छन्। साथमा पदम तामाङ, सुशान्त कार्की, सन्तोष बानियालगायत कलाकारहरूको समेत अभिनय छ। अर्जुन पोखरेल फिल्मको प्रस्तुतकर्ता हुन्।
'पेन्सन पट्टा' र 'बेहुली' दुवै भदौ २६ गतेदेखि प्रदर्शनमा आएका थिए। अहिले दोस्रो सातामा प्रदर्शनरत छन्।