नेपालबाट अस्कर अवार्डका लागि सिफारिस भएको फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले घरेलु बक्स अफिसमा १ करोडभन्दा बढीको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले १ करोड १६ लाख ५४ हजार ९७० रूपैयाँ ग्रस कमाएको हो। असोज ४ गतेसम्म उक्त कमाइ हुँदा फिल्मलाई ३३ हजार १३६ दर्शकले हेरेका छन्।
अविनाशविक्रम शाह निर्देशित 'एलिफेन्ट्स इन द फग' भदौ १९ गते रिलिज भएको थियो। यो फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बस्ने परिवारको कथामार्फत अल्पसंख्यक समुदायको जीवन, आमा-छोरीको सम्बन्ध र मानवीय संवेदनालाई प्रस्तुत गर्छ।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, साहबदिन मिया, उमिषा पाण्डे, गौरी मल्ल, माओत्से गुरूङ, महिमा नवबाग, आकांक्षा कार्की, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ। फिल्म अहिले तेस्रो सातामा प्रदर्शनरत छ।
यो फिल्म सन् २०२७ मा आयोजना हुने ९९ औं एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट आधिकारिक रूपमा सिफारिस भएको हो।
चलचित्र विकास बोर्डले अन्य फिल्मको पनि बक्स अफिस विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार निता ढुंगाना र अशोक दर्जी अभिनीत फिल्म 'पार्वती'ले २ करोड २४ लाख ३१ हजार ८८३ रूपैयाँ ग्रस कमाएको छ। फिल्मलाई ७९ हजार ८ सय ४६ दर्शकले हेरेका छन्। यो फिल्म भदौ १२ गते रिलिज भएको थियो।
त्यसैगरी, ‘गौंथली’को ग्रस कमाइ २५ करोड ९४ लाख ७३ हजार ४० रूपैयाँ पुगेको छ।
फिल्मका लागि ९ लाख ४० हजार ९ सय १५ दर्शक हल पुगेका छन्। कपिल रिजालको निर्देशन रहेको फिल्म साउन १ गते रिलिज भएको थियो।