फिल्म 'बाः एक योद्धा' काठमाडौंमा प्रिमियर हुनुअघि नै मोफसलका दर्शकमाझ पुगेको छ।
प्रायः काठमाडौंमा प्रिमियर गरेपछि मोफसलमा पुग्ने नेपाली फिल्मको अभ्यासभन्दा फरक 'बाः एक योद्धा'ले काठमाडौं बाहिरका चार प्रमुख सहरमा अडियन्स प्रिमियर गर्यो।
फिल्मको नेपालगञ्ज, दाङ, धरान र बुटवलमा अडियन्स प्रिमियर भइसकेको छ। अब असोज ६ गते काठमाडौंमा प्रिमियर गर्ने निर्माणपक्षको तयारी छ।
मोफसलका प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक हरि लम्सालले बताए।
'नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका छौं। काठमाडौंका दर्शकबाट पनि त्यस्तै प्रतिक्रिया पाउने अपेक्षा छ,' उनले भने।
निर्माता वसन्त लम्सालका अनुसार प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा, विशेषगरी बाबु-छोरीको सम्बन्ध र बाबुले परिवारका लागि गर्ने संघर्षलाई मन पराएका छन्। दर्शकले फिल्मले अभिभावकीय जिम्मेवारी र सन्तानप्रतिको त्यागलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीको कथा प्रस्तुत गर्छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता अनिल बुढाथोकी र सह-निर्माता कृष्ण काफ्ले हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्।
'बाः एक योद्धा' असोज ९ गतेदेखि प्रदर्शन तयारीमा छ।
