डोल्पाको फोक्सुन्डोमा तीन दिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा कलाकार तेन्जिङ वाङ्दाकका १५ थान थांका चित्र प्रस्तुत गरिएको थियो।
समुद्री सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा आयोजित प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो।
प्रदर्शनीले फोक्सुन्डोको प्राकृतिक सौन्दर्यसँगै स्थानीय कला, संस्कृति र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनसँग जोडेको आयोजकले जनाएको छ।
सन् २०१६ मा सुरू भएको #फोटोनेपाल अभियानअन्तर्गत हालसम्म नेपाल तथा विदेशमा सयभन्दा बढी प्रदर्शनी आयोजना भइसकेका छन्।