रामबाबु गुरूङको लेखन तथा निर्देशनमा बनेको फिल्म 'कबड्डी ५ः आफ्टर द फाइनल म्याच'को टिजरले राम्रो चर्चा पाएको छ।
करिब साढे ३ मिनेट लामो टिजरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज पाइसकेको छ। सोमबार बेलुका सार्वजनिक टिजरले मंगलबार दिउँसोसम्म उक्त भ्युज पाएको हो।
सार्वजनिक टिजरमा बिके (विजय बराल) को एआईसँगको कनेक्सन, काजी (दयाहाङ राई) र नयाँ मैयाको भूमिकामा सिर्जना गुरूङको प्रवेशलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। विपीन कार्कीको प्रवेश र उनको संवाद शैलीले पनि टिजरलाई थप आकर्षक बनाएको छ।
अन्तिममा रिश्मा गुरूङको पुनरागमन देखाइएको छ। 'कबड्डी'को सुरूआती शृंखलामा शीर्ष भूमिकामा रहेकी रिश्मा चौथो भागमा देखिएकी थिइनन्। पाँचौँ शृंखलामा उनको पुनरागमनले पनि दर्शकमाझ चासो बढाएको छ।
टिजर हेर्दा 'कबड्डी ४ः द फाइनल म्याच' जहाँ टुंगिएको थियो, त्यहीँबाट पाँचौं शृंखलाको कथा अघि बढाइएको संकेत मिल्छ। निर्देशक गुरूङले पनि अघिल्लो शृंखलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।
यता, टिजर सार्वजनिक भएसँगै अभिनेत्री मिरूना मगरको भूमिकालाई लिएर चासो बढेको देखिन्छ। 'कबड्डी ४'मा मैयाँको भूमिकामा देखिएकी मिरूनालाई यसपटक निर्माण टिमले प्रचार सामग्रीमै लुकाउँदै आएको छ। पोस्टरमा पनि उनलाई देखाइएको थिएन भने टिजरमा समेत उनको उपस्थिति गोप्य राखिएको छ। पाँचौं शृंखलामा उनको भूमिका के-कस्तो छ भन्ने निर्माण टिमले खुलाएको छैन।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरूङ, रिश्मा गुरूङ, मिरूना मगरलगायत कलाकारहरूको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।
'कबड्डी'का यसअघिका चारै शृंखला बक्सअफिसमा सफल छन्। 'कबड्डी ५' का निर्माता रामबाबु गुरूङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरूङ हुन्। फिल्ममा सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ।