स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमा 'ल्यांङ ल्यांङ'को शुभ मुहूर्त गरिएको छ।
ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै निर्माण टिमले मंगलबार फिल्मको शुभ मुहूर्त गरेको हो।
फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरू हुनेछ। ३५ दिनको छायांकन तालिका रहेको फिल्मको काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा छायांकन गरिने निर्देशक चौहानले बताए।
'हरेक युवाको कथा' स्लोगन राखिएको फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। युवापुस्ताले साथीभाइबीचको किचकिच तथा एउटै विषयमा बारम्बार हुने दबाब वा मानसिक तनावलाई बुझाउन प्रयोग गर्ने ‘ल्यांङ ल्यांङ’ शब्दलाई नै फिल्मको कथासँग जोडिएको निर्देशक चौहानले बताए।
'फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ,' उनले भने, 'विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं।'
फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन्।
निर्माता भोलानाथ कटुवाल रहेको फिल्ममा रवी रोक्काको छायांकन, मित्र डी. गुरूङको सम्पादन रहनेछ।