प्रदर्शनरत फिल्म 'आचार्य'का विभिन्न दृश्य तथा भिडिओ क्लिपहरू दर्शकले हलभित्रैबाट खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि त्यसको विरोध भइरहेको छ।
फिल्मका अभिनेता, निर्देशक तथा निर्माता निखिल उप्रेतीले हलबाट फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा नराखिदिन आग्रह गरेका छन्।
निखिलले आइतबार भिडिओ सन्देश जारी गर्दै फिल्म निर्माणमा हुने लगानी, त्यससँग जोडिएको निर्माताको सपना र नेपाली फिल्मले भोग्दै आएका चुनौतीलाई बुझिदिन् दर्शकसँग आग्रह गरेका छन्।
'आफ्नो भ्युज बढाउनका लागि १० मिनेट, १५ मिनेट, २० मिनेटसम्मको फुटेज सामाजिक सञ्जालमा राखिदिन्छौं। यसले गर्दा निर्माताको त्यत्रो लगानी र व्यवसायमा कति धक्का दिन्छ भन्ने हामीले सोच्नुपर्छ,' उनले भनेका छन्।
फिल्म निर्माणमा ठूलो मेहनत र लगानी हुने भएकाले केही क्षणको मनोरञ्जन वा भ्युजका लागि फिल्मका दृश्य सार्वजनिक नगर्न उनले आग्रह गरेका छन्।
उनले अनुरोध गर्दै भने, 'यो मलाई मात्रै होइन, कुनै पनि फिल्मको यस्तो नगरियोस्। निर्माताको त्यत्रो लगानी र व्यापारमा खेलवाड नगरिदिनुहोस्।'
निखिलले सबै मिलेर पाइरेसीको विरोध गर्नुपर्ने बताए।
शुक्रबारदेखि प्रदर्शनमा आएको 'आचार्य'ले झरीका बीच पनि सुखद् व्यापार गरेको निर्माणपक्षले जनाएको छ।
यो निखिलको वर्षौ पछिको कमब्याक फिल्म हो।