बहुप्रतीक्षित बलिउड फिल्म 'रामायण'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
शनिबार मुम्बईमा आयोजित कार्यक्रममा निर्माण पक्षले फिल्मका प्रमुख पात्रहरू समेटिएका नयाँ पोस्टर सार्वजनिक गरेको हो।
'रामायण'का कलाकार तथा निर्माण टोलीसँग चर्चित युट्युबर मिस्टर बिस्ट पनि कार्यक्रममा सहभागी भएका थिए।
नयाँ पोस्टरमा रणवीर कपूर, साई पल्लवी र रवि दुबे क्रमशः भगवान् राम, माता सीता र लक्ष्मणको भूमिकामा देखिएका छन्। तीनै जनालाई वनवासको समयको स्वरूपमा प्रस्तुत गरिएको छ। उनीहरूलाई परम्परागत पहिरनमा जंगलको पृष्ठभूमिमा देखाइएको छ।
त्यस्तै, अर्को पोस्टरमा अभिनेता यशलाई रावणको भूमिकामा प्रस्तुत गरिएको छ। नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मका प्रमुख पात्रहरूको स्वरूपलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कार्यक्रममा रणवीर कपुर, साई पल्लवी, रवि दुबे, निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्रालगायतको उपस्थिति थियो। कार्यक्रमका क्रममा रणवीरले मिस्टर बिस्टलाई 'जय श्रीराम' भन्न लगाएको विषय पनि चर्चामा आएको छ।
नितेश तिवारी निर्देशित 'रामायण' दुई भागमा प्रदर्शन हुने तयारीमा छ। पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी छ।
फिल्ममा रणवीर कपुर राम, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण, यश रावण र सनी देओल हनुमानको भूमिकामा देखिँदैछन्।
