मिस युनिभर्स नेपाल र मिस अर्थ नेपालको ग्रान्ड फिनालेका लागि बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलिना जेटली नेपाल आइपुगेकी छन्।
दसौं संस्करणको ग्रान्ड फिनाले आज साँझ काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ। जेटलीसँगै चर्चित मोडल मनिका विश्वकर्मा पनि फिनालेका लागि काठमाडौं आएकी छन्। दुवैले प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
फिनालेमा देशभरबाट सहभागी ११० प्रतियोगीमध्ये छनोट भएका अन्तिम १४ सुन्दरीले प्रतिस्पर्धा गर्नेछन्। साँझ ५ बजे सुरू हुने कार्यक्रममा उनीहरूले व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र बौद्धिकताका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताबाट मिस युनिभर्स नेपाल र मिस अर्थ नेपाल छनोट हुनेछन्। विजेतामध्ये मिस युनिभर्स नेपालले पोर्तो रिकोमा आयोजना हुने मिस युनिभर्समा र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा आयोजना हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगिता पुरीका अनुसार प्रतियोगिताबाट छनोट हुने दुवै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।