रेखा थापा, निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्काको मुख्य अभिनय रहेको फिल्म 'छत्तीसको आँकडा'को प्रदर्शन मिति तय भएको छ।
सबिर श्रेष्ठ निर्देशित यो फिल्म मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो। सोमबार अभिनेत्री निरूता सिंहको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मले प्रदर्शन मिति तय गरेसँगै प्रचारप्रसारलाई समेत तीव्रता दिने तयारी गरेको निर्माण पक्षले जनाएको छ। फिल्मको पहिलो गीत भने घटस्थापनाका दिन सार्वजनिक गरिने भएको छ।
फिल्मको कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ। फिल्ममा रेखा थापा र पूजा शर्मा फरक भूमिकामा प्रस्तुत छन्। यसअघि सार्वजनिक फिल्मको पोस्टरले पनि दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्थ्यो। पोस्टरमा रेखाको पात्र संघर्षपछि प्राप्त सफलताको भावमा देखिँदा पूजाको पात्र भने प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको थियो।
फिल्ममा रेखाको जोडीका रूपमा महेश त्रिपाठी देखिँदा पूजासँग पुष्प खड्का जोडीका रूपमा प्रस्तुत हुँदैछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा एकसाथ पर्दामा देखिन लागेका हुन्।
'छत्तीसको आँकडा'मार्फत रेखा थापा र निरूता सिंहले लामो समयपछि सहकार्य गरेका हुन्। यी दुईले यसअघि फिल्म 'दुई पल'मा सँगै अभिनय गरेका थिए।
निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्। यस्तै, रेखा र पूजाले 'उपहार'पछि पुनः एकसाथ काम गरेका हुन्।
'छत्तीसको आँकडा'को नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।