फिल्म सफल भएपछि त्यसको दोस्रो भाग बनाउने होडबाजी बलिउडदेखि नेपाली फिल्म उद्योगसम्म देखिन्छ। कुनै फिल्मले राम्रो व्यापार गर्नेबित्तिकै त्यसको सिक्वेल बनाउने चर्चा सुरू भइहाल्छ।
पहिलो भागले कमाएको लोकप्रियता र दर्शकको आकर्षणलाई दोस्रो भागमा पनि दोहोर्याउने प्रयास निर्माताहरूको हुन्छ। तर निर्देशक तथा अभिनेता भुवन केसी यसमा आफ्नो फरक धारणा रहेको बताउँछन्।
हालै प्रदर्शनमा आएको फिल्म 'बाटुलो जून'को हल भिजिटका क्रममा भुवनले सिक्वेल बनाउने विषयमा आफ्नो फरक धारणा सार्वजनिक गरेका हुन्।
'बाटुलो जून' हेरेर निस्किएका कतिपय दर्शकले पार्ट २ चाहियो भन्दै माग गरेका थिए। सोही सन्दर्भमा संचारकर्मीको प्रश्नमा भुवनले आफू पार्ट २ बनाउने कुरामा त्यति विश्वास नगर्ने बताए।
उनले आफ्ना यसअघिका सफल फिल्म 'करोडपति', 'नेपाली बाबु' र 'ड्रिम्स'को समेत दोस्रो भाग बनाउने सोच नबनाएको बताए।
'सायद म पार्ट २ चाहिँ बनाउँदिनँ होला। म पार्ट २ मा विश्वास गर्दिनँ। मैले करोडपति २, नेपाली बाबु २, ड्रिम्स २ बनाउने सोचिनँ,' भुवनले भने, 'यदि पार्ट २ बनाउने हो भने कस्तो अवस्थामा बनाउँछु भन्दा मलाई त्यतिबेला पहिलेको करोडपतिभन्दा १० गुणा बेटर बनाउन सकिन्छ भन्ने लाग्यो भने मात्रै बनाउँछु। वा बाटुलो जूनभन्दा १० गुणा बेटर बनाउन सकें भने पार्ट २ बनाउँछु।'
उनले सिक्वेल बनाउने सम्भावनालाई भने पूर्ण रूपमा नकारेका छैनन्। तर पहिलो भागको सफलताको फाइदा उठाउनकै लागि दोस्रो भाग बनाउने पक्षमा आफू नरहेको उनको भनाइ छ।
पहिलोभन्दा राम्रो कथा र प्रस्तुति दिन सक्ने आत्मविश्वास नभएसम्म सिक्वेल बनाउनुको अर्थ नरहेको उनले बताएका हुन्।
भुवनले अगाडि थपे, 'यसको ब्याज खान मात्रै पार्ट २ बनाउँदिनँ। त्यो चाहिँ सरासर दर्शकलाई झुक्याउने हो जस्तो लाग्छ। त्योभन्दा बेटर बनाउन सकें भने आँट्छु। नत्र भने मलाई पार्ट २ बनाउन आत्मविश्वास छैन।'
अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्तलगायत कलाकारहरू अभिनीत 'बाटुलो जून' गत बिहीबारदेखि प्रदर्शनमा आएको हो। फिल्मले यतिबेला देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको छ।