फिल्म 'फ्रेन्च किस'ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।
आइतबार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी माघ १ गते (जनवरी १५)देखि प्रदर्शनमा आउने जानकारी दिएको हो। माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शन हुने भएको हो।
सार्वजनिक टिजरमा एक युगल जोडी देखिन्छ। काठमाडौंका सुन्दर स्थानदेखि तालसम्म उनीहरू हात समाएर घुमिरहेका छन्। यसक्रममा प्रेमबारे आ-आफ्ना धारणा राख्छन्।
टिजरमा केटा र केटी दुवै एकअर्काप्रति आकर्षित देखिन्छन्। एकान्तमा बसेर चुम्बन गर्ने उनीहरू होटलमा पुगेर शारीरिक सम्बन्धसमेत राख्छन्। त्यसपछि उनीहरूबीच चर्काचर्की भएको सुनिन्छ। यसले उनीहरूको सम्बन्धमा खटपट आएको संकेत गर्छ।
टिजरले आधुनिक प्रेममा देखिने क्षणिक आकर्षण र सम्बन्धको अस्थिरतालाई संकेत गरेको छ। टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै देखिएका छन्। उनीहरूको रोमान्स र सम्बन्धमा आउने उतारचढावकै वरिपरि टिजर केन्द्रित छ।
अर्पण थापा निर्देशित ‘फ्रेन्च किस’ मा उनीसँगै थिन्ले ल्हामो, रेखा थापा, गौरी मल्ललगायत कलाकारको अभिनय छ। नयाँ पुस्ताको प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गर्ने निर्देशक थापाले यसअघि नै बताइसकेका छन्। फिल्मको कथा पनि उनैले लेखेका हुन्।
निर्माण टिमले 'फ्रेन्च किस'लाई नयाँ पुस्ताको रूचि र स्वादअनुसारको फिल्म भनेको छ। दर्शकले यस फिल्ममार्फत आधुनिक प्रेमकथाको अनुभूति गर्न पाउने निर्देशक थापाको भनाइ छ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता अर्पण थापा र सौगात बस्नेत हुन्। त्यस्तै, सह-निर्मातामा सुभाष बी शाही र कान्तिपुर फिल्म एकेडेमी छन्।
फिल्म छायांकन सुदीप बरालले गरेका हुन्। फिल्ममा चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत रहनेछ भने 'फ्रेन्च किस' लाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन्।