फिल्म 'सिन्दुरे जात्रा'को गीत 'बाँसैको सुप्लाखे'लाई स्रोता तथा दर्शकले रूचाएका छन्।
सार्वजनिक भएको पाँच दिनमै यो गीतले युट्युबमा २३ लाखभन्दा बढी भ्युज पाएको छ।
गीतले युट्युबमा राम्रो भ्युज पाइरहँदा टिकटकमा समेत उत्तिकै चर्चा बटुलिरहेको छ। हालसम्म २० हजारभन्दा बढी टिकटक भिडिओमा यो गीत प्रयोग भइसकेको देखिन्छ।
प्रेमिल भावले भरिएको गीतमा प्रेम, लज्जा, इसारा, विश्वास र समर्पणका भाव समेटिएका छन्। प्रेममा रहेका युवा-युवतीले एकअर्कासँग व्यक्त गर्न नसकेका मनका कुरा इसारामार्फत पोखेको प्रसंग गीतमा प्रस्तुत गरिएको छ। मनका भावना सुटुक्क साट्दै जीवन एकअर्कालाई समर्पण गर्ने प्रेमिल अनुभूति गीतमा सुनिन्छ।
प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीको संगीत छ।
भिडिओमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन्। उनीहरूले आकर्षक नृत्यमार्फत गीतको प्रेमिल भावलाई पर्दामा उतारेका छन्।
सरोज पौडेल निर्देशित 'सिन्दुरे जात्रा'मा विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। 'पूर्णबहादुरको सारंगी'पछि उनीहरू दोस्रोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्।
'सिन्दुरे जात्रा' मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ।