असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'आबाट आमा २'को गीत सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार फिल्ममा समावेश 'अचेल किन कान्छी' बोलको गीतको भिडिओ सार्वजनिक गरेको हो।
गीत सार्वजनिक भएको एक दिनमै यसले युट्युबमा लोभलाग्दो भ्युज पाइरहेको छ। बुधबार दिउँसोसम्म गीतको भिडिओलाई १६ लाखभन्दा बढीपटक हेरिएको छ।
डान्सिङ शैलीको गीतको भिडिओमा अभिनेता पल शाह, अभिनेत्री मलिका महतको नृत्य हेर्न सकिन्छ। साथमा अभिनेता आकाश श्रेष्ठलगायत कलाकारलाई समेत देखाइएको छ।
सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडिओमा दुलाहाहरू समेत छमछमी नाचेका छन्। गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ। सामूहिक स्वरमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २'मा पल र मलिकासँगै विपना थापा, रिश्ता गुरूङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय छ।
फिल्ममा नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ।