शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'बा: एक योद्धा'मा दर्शक बढ्दै गएका छन्।
प्रदर्शनका सुरूआती तीन दिन लगातार वर्षा हुँदा अपेक्षाकृत कम दर्शक पाएको फिल्ममा मंगलबारदेखि भने दर्शकको चाप बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ।
मंगलबारदेखि सुरू हुने 'डिल डे'अन्तर्गत ५० प्रतिशत छुटको प्रभावसँगै फिल्मका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको वितरकको भनाइ छ। मंगलबार देशभर ७९ शो पाएको फिल्मका थुप्रै शो हाउसफुल भएका थिए।
दर्शकको माग बढेसँगै बुधबारदेखि फिल्मको शो संख्या पनि बढाइएको छ। वितरकका अनुसार देशभर फिल्मले १ सयभन्दा बढी शो पाएको छ। काठमाडौं उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म थप शो दिइएको जनाइएको छ।
फिल्मले पाएको प्रतिक्रियामा यसको भावनात्मक पक्षलाई दर्शकले बढी रूचाएको देखिन्छ। बाबुआमाले सन्तानका लागि गर्ने त्याग र संघर्ष तथा वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षालाई फिल्मले प्रस्तुत गरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन्। कतिपय दर्शकले फिल्मले आफ्नै परिवारको कथा सम्झाएको बताएका छन्।
सन्तानले आफ्ना अधिकारका लागि आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश फिल्मले दिएको दर्शकको भनाइ छ।
प्रदर्शनको सुरूआती दिनदेखि नै विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्दै आएको फिल्मको कलाकार टोली मंगलबारदेखि बढेको दर्शकको चापले उत्साहित बनेको छ।
हरि लम्साल निर्देशित 'बाः एक योद्धा' मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा वसन्त लम्साल निर्माता, अनिल बुढाथोकी कार्यकारी निर्माता छन्।