माओत्से गुरूङको निर्देशनमा बनेको फिल्म 'पेन्सन पट्टा' यस वर्षको सर्वाधिक कमाउने तेस्रो नेपाली फिल्म बनेको छ।
चलचित्र विकास बोर्डको पछिल्लो विवरणअनुसार असोज ११ गतेसम्म फिल्मले ७ करोड १ लाख ४१ हजार ४०३ रूपैयाँ ग्रस कमाएको छ। यो अवधिमा २ लाख ४४ हजार ८४२ टिकट बिक्री भएका छन्। दयाहाङ राईको शीर्ष अभिनय रहेको यो फिल्म भदौ २६ गते रिलिज भएको थियो।
यस वर्ष सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा 'गौंथली' पहिलो र 'लालीबजार' दोस्रो स्थानमा छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको 'गौंथली'ले २५ करोड ९५ लाख रूपैयाँ ग्रस कमाएको छ। यो नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत हो। डा. कपिल रिजालको निर्देशन रहेको 'गौंथली'मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।
त्यस्तै, वैशाख २५ गते रिलिज 'लालीबजार'ले ९ करोड ३२ लाख रूपैयाँ ग्रस कमाएको थियो। यम थापाको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का शीर्ष भूमिकामा छिन्।
‘पेन्सन पट्टा’को व्यापारिक रफ्तार हेर्दा यसले 'लालीबजार'को कमाइलाई यसै साता उछिन्ने आँकलन गरिएको छ।
फिल्मले प्रदर्शनको पहिलो १० दिनमै झन्डै चार करोड रूपैयाँ कमाएको थियो। 'पेन्सन पट्टा' मा दयाहाङसहित गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा, पशुपति राई, विश्वास गुरूङ, माया गुरूङ, पुष्कर बहादुर गुरूङलगायतको अभिनय छ।
'पेन्सन पट्टा'ले ऋणको बोझमा बाबु गुमाएका राजन र उनकी आमाको पेन्सन पट्टासँग जोडिएको संघर्ष र त्यसक्रममा राजनले गर्ने यात्राको कथा प्रस्तुत गर्छ।