अस्कर कलेजले आफ्ना दीक्षित विद्यार्थीका फिचर सिनेमा परियोजना पिचिङ कार्यक्रम आयोजना गर्ने भएको छ।
असोज २० गते (मंगलबार) सुकेधारास्थित मक्र्युर होटलमा आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूले नेपाली सिनेमा उद्योगका निर्माता, निर्देशक, वितरक तथा सिनेमाकर्मीमाझ आफ्ना परियोजना प्रस्तुत गर्नेछन्।
कलेजका अनुसार आन्तरिक छनोटबाट छानिएका १० जना दीक्षित विद्यार्थीले कार्यक्रममा आ-आफ्ना फिचर सिनेमा परियोजना पिच गर्नेछन्। कार्यक्रममा नेपाली सिनेमा क्षेत्रमा सक्रिय ५० भन्दा बढी निर्माता, निर्देशक, वितरक तथा सिनेमाकर्मीको सहभागिता रहनेछ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले पिचिङ कार्यक्रमले सिनेमा कलेज र नेपाली फिल्म उद्योगबीचको सम्बन्धलाई थप बलियो बनाउने बताए । उनका अनुसार यसबाट नयाँ प्रतिभा र फरक दृष्टिकोणलाई उद्योगमाझ पुग्ने अवसर मिल्नेछ।
अस्कर कलेजले यस किसिमको बृहत् पिचिङ कार्यक्रम पहिलोपटक आयोजना गर्न लागेको हो।
दाहालका अनुसार कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।