इसराइलका तीन जना चर्चित कार्टुनिस्ट नेपाल आएका छन्।
इसराइली दूतावासको आयोजनामा निसिम हेज्कियाउ (नुस्को), प्राध्यापक इतामार डाउबे र उरी फिन्क नेपाल आएका हुन्। उनीहरुले २८ देखि ३० सेप्टेम्बरसम्म कार्टुन प्रदर्शन समेत गरे।
उनीहरूको भ्रमण नेपाल–इसराइल कलात्मक तथा सांस्कृतिक आदानप्रदानअन्तर्गत भएको दूतावासले जनाएको छ।
भ्रमणका क्रममा २८ सेप्टेम्बरमा काठमाडौंमा ‘पृथ्वीका उच्चतम र निम्नतम स्थान’ विषयमा इसराइली–नेपाली कार्टुन प्रदर्शनी गरिएको थियो।
प्रदर्शनीमा इसराइली र नेपाली कार्टुनिस्टका सिर्जना राखिएका थिए।
दूतावासकी कार्यवाहक प्रमुख जानान बेबारले कला र सिर्जनशीलतामार्फत दुई देशका जनतालाई नजिक ल्याउन यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग गर्ने बताइन्।
इसराइली कलाकार नुस्कोले नेपालमा यस्तो विशेष प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए।
नेपाल भ्रमणका क्रममा उनीहरूले नेपाली कार्टुनिस्टसँग अन्तरक्रिया गर्नुका साथै त्रिभुवन विश्वविद्यालय र दिव्यभूमि मल्टिपल कलेजका पत्रकारिता तथा आमसञ्चारका विद्यार्थीलाई कार्टुन, कमिक्स र क्यारिकेचरबारे व्याख्यान तथा कार्यशाला दिएका थिए।
उनीहरुको भ्रमणले दुई देशबीच कलात्मक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउन सहयोग गरेको दूतावासले जनाएको छ।