फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेका दुई नेपाली फिल्ममध्ये 'अक्षरा' मात्रै हलमा आएको छ।
नेपाल, भुटान र भारतको सहकार्यमा बनेको फिल्म 'टनेल २६: द कर्स बिनिथ द माउन्टेन'को प्रदर्शन भने अन्तिम समयमा स्थगित गरिएको छ।
शुक्रबारदेखि नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तय भएको फिल्मको बिहीबार ग्राण्ड प्रिमियरसमेत गरिएको थियो। तर निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो।
निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गरी फिल्मलाई नेपाल र भुटानमा मात्रै सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरिएको जनाएको छ।
निर्माण टिमका अनुसार फिल्मलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन गर्ने तयारी भइरहेको छ। त्यसका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा गरेपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।
'टनेल २६'को प्रदर्शन स्थगित भएसँगै यो शुक्रबार हलमा नयाँ नेपाली फिल्मका रूपमा 'अक्षरा' मात्रै प्रदर्शनमा आएको छ।
विनय राज पौडेल निर्देशित 'अक्षरा' सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म हो। महिलाको पहिचान, सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक चुनौतीलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेतलगायत कलाकारको अभिनय छ।
ड्रामा विधाको फिल्मको रनटाइम १३४ मिनेट छ।