काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण आइतबार काठमाडौंस्थित रसियन हाउसमा चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको फेस्टिभलमा प्रतिकूल मौसमका बाबजुद दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
फेस्टिभलमा प्रतिस्पर्धामा रहेका १८ छोटा चलचित्रमध्ये दर्शकको मतका आधारमा आकाश धिमाल निर्देशित नेपाली चलचित्र 'केएनएआर' उत्कृष्ट घोषित भयो। त्यस्तै, ६ फिचर चलचित्रमध्ये नादिम ताबेत निर्देशित 'इन दिस डार्कनेस आई सी यु' उत्कृष्ट बन्यो। फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण रहेको उक्त चलचित्रले दर्शकको मतका आधारमा उत्कृष्ट फिचर चलचित्रको अवार्ड जितेको हो।
महोत्सवको समापन मोराद मुस्तफा निर्देशित 'आयशा कान्ट फ्लाई अवे' प्रदर्शनसँगै गरिएको थियो। इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट लामो चलचित्रले इजिप्टको काइरोस्थित ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी आयशाको संघर्षको कथा प्रस्तुत गर्छ। गिरोहको नियन्त्रणमा रहेको बस्तीमा इजिप्टेली र अफ्रिकी आप्रवासीबीचको तनावका कारण आयशाले भोग्नुपरेका चुनौती चलचित्रमा देखाइएको छ।
समापन समारोहका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति ब्रजेश खनालले नेपालमा हरर चलचित्रको प्रवद्र्धनका लागि महोत्सवले गरेको पहलको प्रशंसा गरे। उनले आयोजकलाई धन्यवाद दिँदै यस्तो महोत्सवले नेपाली चलचित्र क्षेत्रलाई नयाँ विधामा अघि बढ्न सहयोग पुग्ने बताए।
नेपालस्थित रूसी संघीय दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ र रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभाले चलचित्रमार्फत नेपाल र रूसबीचको सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। समारोहमा महोत्सवमा योगदान पुर्याउने स्वयंसेवक तथा सहयोगीहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो।
सन् २०२५ मा २५ चलचित्र प्रदर्शन गर्दै सुरू भएको महोत्सवको दोस्रो संस्करणमा २१ देशबाट प्राप्त चलचित्रमध्ये २६ वटा छनोट गरिएका थिए। तीमध्ये ८ फिचर र १८ छोटा चलचित्र थिए। छनोट भएका चलचित्रमा पाँचवटा नेपाली निर्माण वा सह-निर्माणका थिए। नेपाल-अस्ट्रेलिया सह-निर्माणमा बनेको फिचर चलचित्र ‘मोक्ष’ पनि महोत्सवमा समावेश थियो।

महोत्सव निर्देशक राशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा विधागत चलचित्रप्रति रूचि रहेको पुष्टि गरेको बताए। हरर चलचित्र लोककथा, समाज र पहिचानजस्ता विषयलाई प्रस्तुत गर्ने सशक्त माध्यम भएको उल्लेख गर्दै उनले यस विधामा काम गर्ने नेपाली फिल्मकर्मीलाई महोत्सवले निरन्तर अवसर प्रदान गर्ने बताए।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सवमा रसियन हाउस काठमाडौं स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका थिए।